ललितपुर,
मिति २०८२ पुष १५ गतेका दिन वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण समारोह सातदोबाटो स्थित ललितपुर पार्टि प्यालेसमा सम्पन्न भएको छ । उक्त पुस्तकको नाम अक्षरमा सात दशक,कुम्हालेको चक्र : माटो र जीवन रहेको, उक्त पुस्तकमा जम्मा ४२ अध्यायहरु समावेश भएका छन् । यसमा उहाँको बाल्यकाल, युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका अनेक आरोहअवरोहका संघर्षशील घटना परिघटना र सामाजिक सम्लग्नताको अलावा थुप्रै राम्रा नराम्रा, सुख दुःख, सफलता असफलता र संयोग वियोगका चरणहरु वर्णन भएको छ ।
उहाँका कुरा सुनेर नानी हेरा शाक्यले लिपिबद्ध गरेका छन् । यसको पूर्णपाठ अध्ययन गरेर साहित्यकार शैलेन्द्र अधिकारीले समिक्षा गरेको अंशलाई पुस्तकमा समेत समावेश गरिएको छ यस किताबमा समावेश भएका तत्कालिन समाजको वर्णन देखि उतारचढावको किस्साहरु पढिसकेपछि विशेषतः युवावर्गमा धैर्यताले काम गर्नुपर्छ भन्ने उर्जा थपिने विश्वास प्रकाशक कयो अवालेको रहेको छ । राजेश अवाले स्वयमंका अनुसार यस पुस्तकले सम्बन्धित वर्गलाई प्रेरणा पुगेको कारणले कुनै पनि रुचिको काममा निरन्तर लागेको खण्डमा सफलता प्राप्त हुने मूलसन्देश प्रवाह गर्न सकेमा आफ्नो पुस्तक यसप्रकार पुस्तकाकार स्वरुपमा सार्वजनिक गर्नुको उद्देश्य पूरा हुने बताएका छन् ।
कलाकृतिले भरिएको फूर्वाको मूर्ति प्रेक्षालयको मूलद्वारबाट देखिने गरि सजाइएको मञ्चमा वरिष्ठ पत्रकार उज्यालोकर्मी श्री कुमार रञ्जितको आवाजले छरिएर बसेका सबै आगन्तुकहरुको ध्यानाकर्षण भयो । उक्त सभाको सभापतित्व ग्रहण प्रकाशक कयो अवालेले गर्नुभयो । यसै गरी मञ्चमा आत्मवृत्तान्त पुस्तकका मुख्य व्यक्ति राजेश अवालेको प्रवेश भयो । कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गर्नुभयो । बिशेष अतिथिमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य रहनुभयो । साथै पुस्तकका लेखक नानी हेरा शाक्यले पनि आशन ग्रहण गर्नुभयो ।
यस अन्तर्कियात्मक लोकार्पण समारोहमा वक्ताको रुपमा पुस्तकका समिक्षक साहित्यकार शैलेन्द्र अधिकारी, वरिष्ठ धातुमूर्ति कलाकार सन्तकुमार शाक्य सहित मञ्चमा क्रमशः रुद्रवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष काजीरत्न शाक्य, महाबुद्ध मन्दिर संरक्षण समितिका अध्यक्ष महेन्द्रानन्द शाक्य, वरिष्ठ कलाकार तथा प्राज्ञ धर्मराज शाक्य, वरिष्ठ पौभा कलाकार लोक चित्रकार, वरिष्ठ प्रस्तरमूर्ति कलाकार चन्द्र श्याम डंगोल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मूर्तिकला विभाग प्रमुख तथा प्राज्ञ दिनेश्वर महत्तो र ललितपुर महानगरपालिकाका अध्यक्ष निर्मलरत्न शाक्य मञ्चमा आशिन भएका थिए भने थुप्रै संघसंस्थाका प्रतिनिधिहरु दर्शकदिर्घाको अघिल्लो स्थानमा यथास्थान आशन ग्रहणमा रहनुभयो । कलाकार राजेश अवालेले हाम्रो निमन्त्रणा स्वीकार गरेर यहाँ उपस्थित सबैलाई अन्तरहृदयबाट स्वागत गर्दछु भन्दै सभालाई विधिवट रुपमा अगाडि सार्नुभयो । कार्यक्रम भव्यताका साथ बुट्टेदार पानसमा दिप प्रज्वलन गरेर प्रमुख अतिथिले कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
त्यसको लगत्तै सामूहिक पुस्तक विमोचन पश्चात कार्यक्रम सञ्चालक कुमार रञ्जितले पूर्ववत योजना अनुसार कुराकानी शुरु गरेको थियो । सामान्यतया भन्दा फरक शैलीमा कार्यक्रम हुने भन्दै शुरुमै राजेश अवालेलाई यो पुस्तक लेख्ने सोच किन र कसरी आयो ? भनेर प्रश्न गरेको थियो । जवाफमा चारपुस्ता धातुमूर्तिकलामै लागिरहेको कुरा अरुलाई सुनाउन मन लागेको भनेर जवाफ दिएका थिए । चरणबद्ध रुपमा फिजाइएका प्रश्नहरु पुस्तक तयारी क्रममा रहँदा कस्तो महशुस भयो ? र पुस्तक तयार भएर आजको दिनमा आइपुग्दा कतिको चाहिने काम गरे पुस्तक निकालेर भन्ने लागेको छ त ? भन्ने जिज्ञासाको जवाफ शिष्ट र शालीन तवरले अवालेले पेश गरेको देखिन्थ्यो । यसैगरि उपमेयर मञ्जली शाक्यले पुस्तकको अग्रभावमा रहेको
निरन्तर
वायुले बहने धर्म नबिर्सिए जस्तै,
माटोले उब्जिने धर्म नबिर्सिए जस्तै,
जलले तरल हुने धर्म नबिर्सिए जस्तै,
अग्निले रापतापको धर्म नबिर्सिए जस्तै,
आकाशले जस्तै कलाकारको रुपमा विचार,
विस्तार एवं रचनात्मक धर्म नबिर्सिने कोशिसमा लागीरहेँ ।
भन्ने हरफले साहै मन छोएको बताउनु भयो । र उहाँले उक्त हरफ वाचन समेत गर्नुभयो । उहाँले नगरपालिकाले यस्तो कामको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धताको अलावा नगरपालिकाले पुस्तक किनेर समेत सहयोग गर्ने बताउनुभयो । वरिष्ठ कलाकार सन्त कुमार शाक्यले आफूले आत्मवृत्तान्त निकालेको केही समयमा आफ्नै थलोकै सेरोफेरोमा समान पेशाले हुर्केको साथीले पनि यस्तै प्रकृतिको किताब निकाल्दा निकै हर्ष लागेको बताउनुभयो । साथै आजभन्दा पचास वर्ष अगाडि सँगै नाटक खेल्दाको सपना खला बिपना झीगु प्रेम जुल भन्ने त्यसबेला गोविन्द चिकँमूले लेखेको र सबैले रुचाएको गीतलाई लयमा गीत गाएर सभाको माहोललाई मनोरञ्जनात्मक बनाउनुभयो ।
समिक्षक शैलेन्द्र अधिकारीलाई रञ्जितले नानी हेराले लेखेको लेखनको पूर्ण पाठको पहिलो पाठक तपाईं । यस पुस्तकका बारेमा बिस्तारमा तपाईको अभिव्यक्ति दिनुहोस् भन्दै पाठकहरुले यो पुस्तक किन पढ्नु पर्छ जस्तो लाग्छ लगायत पुस्तकमा निहित महत्वपूर्ण पक्षहरु केकस्ता छन् भनेर राखिएको जिज्ञासामा अधिकारीले विभिन्न चरणमा स्पष्ट पार्नुभयो । उहाँले चारपुस्ता एउटै पेशामा अडिनु नै निकै महत्वको उदाहरणीय तथ्य आफूलाई लागेको भन्नुभयो । यो किताब आफुले पढ्न नपाएको भए मैले वास्तविक कलालाई नबुझ्ने रहेछु ।
राजधानीको ललितपुरमा भइकन पनि राजधानी बाहिरको राजधानीमा छौं । यहाँका यस्ता मुर्धन्य कलाकारको कलाले राजधानी नपाएको मलाई लाग्यो । राष्ट्रिय स्तरले नचिन्ने तर अन्तराष्ट्रिय जगतले चिन्ने कस्तो समाजमा छौं हामी भनेर चिन्ता पनि व्यक्त गर्नुभयो । यो किताबमा लेखिएका केही वाक्यहरु वाचन गर्दै राजेश अवालेको संस्कार गजब लागेको भन्नुभयो । किताबमा उहाँले हजुरबुबा र बाका लागी लेखेका वाक्यहरुले निकै मन छोएको र एक व्यक्ति जस्तो वैभवमा पुगेपनि धरातल नबिर्सेको अभिव्यक्ति निकै मर्मस्पर्शी छ । यस्ता कुरालाई भावी पुस्ताले सिक्नुपर्ने र अनुकरण गर्नुपर्दछ भन्ने अभिव्यक्ति दिनुभयो ।
पुस्तकलाई लिपिवद्ध गरेका नानी हेरा शाक्य अस्वस्थताका कारण मञ्चमै रहे पनि केही नबोलेको हुनाले उहाँको प्रतिनिधित्व गरेर समेत अधिकारीले पुस्तक बारे राखेका अभिव्यक्तिहरु सभामा सबैले निकै रुचि दिएर सुनेको देखिन्थ्यो । म बुबाबाटै सिर्जित कलाकर्मी हुँ । मैले उहाँको गुण नजरअन्दाज गर्नुहुन्न भन्ने थाहा थियो भनेर लेखेका वाक्यहरु लगायत आखिर मान्छे हुँ गलत भइन्न भन्ने हुन्न जिन्दगानीमा । जति सक्यो चाँडो त्यसबाट बाटो मोडेर सही बाटो हिँड्न जान्नु महत्वपूर्ण कुरा हो ।
जस्तो दार्शनिक अर्थ आउने कुरा लगायत पुरै किताब सरल भाषामा लेखिनुलाई पनि उहाँ विशेष भएको उल्लेख गर्नुभयो । कुम्हालेको घरमा जन्मेका र माटोसँग खेल्दै हुर्केका अवालेको पुस्तकले पञ्चतत्वको कुरामा समेत नजानिदो तवरले अनित्य जीवनको वास्तविकता उजागर पारेको बताउनुभयो । संघर्ष जसको पनि हुन्छ जीवनमा तर यसरी प्रस्तुत कसले गर्न सक्छ त भन्ने कुरा पनि आफैमा ठूलो लागेको भन्नुभयो । निरन्तर संघर्ष नै सफलताको मूल मन्त्र हो भन्ने सन्देश यस पुस्तकले बेजोड रुपमा प्रवाह गर्न सकेकोमा राजेश अवाले र नानी हेरा शाक्य लगायत प्रकाशक परिवारलाई बधाई दिनुभयो ।
यसैगरी प्रमुख अतिथि कुलपति नारदमणि हार्तम्छालीले यो सामाग्रीले कलाकारको अनुसन्धनात्मक अध्ययनका निमित्त एक महत्वपूर्ण प्रारम्भिक विवरण संकलन भएकोले यो प्राज्ञिक अध्येताका निम्ति समेत उपयोगी हुने बताउनुभयो । राजेश अवाले आफ्नो लागिमात्र नभई समाजलाई सृजनात्मक बनाउन लागिपरेको कुराले समेत आफु निकै प्रभावित भएको र यस्ता व्यक्ति सम्मानका हकदार समेत हुने भन्नुभयो ।
लेखक नानी हेरा शाक्य, सम्पादक रविन्द्र श्रेष्ठ, समिक्षक शैलेन्द्र अधिकारीलगायत विशेष अतिथि र प्रमुख अतिथिलाई सम्झनाको चिनो र कार्यक्रम सञ्चालक कुमार रञ्जितलाई कृतज्ञता पत्र क्रमशः प्रमुख अतिथि, राजेश अवाले र कयो अवालेले प्रदान गदै अन्त्यमा राजेश अवालेका तर्फबाट सबैलाई मुरीमुरी धन्यवाद प्रदान गर्दै दर्शकहरुको उलेख्य उपस्थिति रहेको पुस्तक लोकार्पण समारोहको सभा विसर्जन गर्नुभयो ।



