ललितपुरको वडा ६ मा सातौ मेयर कप टेवल टेनिस पुस २० बाट शुरु

हुंदललितपुर – ललितपुर महानगरपालिका वडा नं. ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर–वडा टेबलटेनिस प्रतियोगिता पुस २० गतेदेखि सुरु हुने भएको छ। खेलकुदमार्फत युवालाई सक्रिय बनाउने तथा महानगरस्तरमा टेबलटेनिस खेलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो।

ललितपुर महानगरपालिका वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यका अनुसार प्रतियोगितामा ललितपुरमहानगरपालिकाभित्रका विभिन्न वडाबाट खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा पुरुष, महिला, उमेर समूह र खुला गरी जम्मा १७ वटा स्पर्धा समावेश गरिएका छन्। अनुभवी खेलाडीसँगै नयाँ प्रतिभाले पनि आफ्नो क्षमता प्रदर्शन गर्न पाउने अवसर रहने अध्यक्ष शाक्यले बताउनुभयो।

ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख २५ हजार रुपैयाँ रहेको छ। ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेका अनुसार प्रतियोगितामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ३–स्टार बल प्रयोग गरिने बताउनुभयो ।

पुस २० गतेदेखि सुरु हुने प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महानगरपालिकाको कनिबहालस्थित खेल स्थलमा आयोजना हुनेछन्। 

 प्रतियोगितामा पुरुष तथा महिला टिम इभेन्ट, पुरुष तथा महिला सिङ्गल (A र B), डबल्स, जुनियर (U–12 र U–16), भेट्रान्स (+40, +50, +60), महिला भेट्रान्स (+40) तथा ओपन लोकल रिप्रेजेन्टेटिभ्स इभेन्ट समावेश छन्।महानगरपालिका स्तरमा आयोजना हुने यस प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै टेबलटेनिस खेलप्रति आम नागरिकको रुचि बढाउने अपेक्षा गरिएको छ। प्रतियोगितामा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै आयोजक समितिले खेलप्रेमी दर्शक, खेलाडी तथा सम्बन्धित सबैलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *