आदिवासी जनजाती महिला समूहद्वारा आयोजित ललितपुर जिल्लाव्यापी बुद्ध र बुद्धधर्म सम्बन्धि हाजिरीजवाफ प्रतियोगिताको ५३ औं संस्करणमा सहभागी १४ समूहहरु बिच गरिएको टाई ड्रबाट समूहहरु दुई दिनको प्रतियोगिताका लागि विभाजन गरिएको थियो ।
त्यसअनुरुप मिति २०८३ आश्विन २८ गते बुद्धवार पुण्य उदय बौद्ध परियत्ति केन्द्र, हरिसिद्धि, बोधिचर्या नेपाल, खाछें, दिपंकर परियत्ति केन्द्र, नागबाहाः, नेवाः बौद्ध शिक्षा बौद्ध विहार संघ, पूच्वः, विश्व शान्ति पुस्तकालय, कुटिसौगः, दिपावती परियत्ति केन्द्र, गुइत, सुगत बौद्ध महाविद्यालय, इबाबही र मिति २०८३ आश्विन २९ गते विहिवारका लागि श्रीबच्छ महाविहार परियत्ति केन्द्र, श्रीबहाः, वेलुबनाराम परियत्ति केन्द्र, ठेचो, श्री अष्टसद्धर्मायतन बौद्ध परियत्ति केन्द्र, प्रयागपूखु, तःजः परियत्ति केन्द्र, धपगाः, श्री शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय, थैना, जयमंगल परियत्ति केन्द्र, चंकि, नमुना मछिन्द्र परियत्ति केन्द्र, लंगख्यः छनौट भयो ।
तद्अनुरुप दुई दिन सञ्चालित प्रतियोगिताबाट प्रत्येक दिन २, २ बिजेता समूहहरु गरी जम्मा ४ समूहहरु नेवाः बौद्ध शिक्षा बौद्ध विहार संघ, दिपावती परियत्ति केन्द्र, तःजः परियत्ति केन्द्र र श्री शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालय मिति २०८३ आश्विन ३० गते शनिवारका दिन हुने भनिएको अन्तिम चरणमा प्रवेश गर्न सफल भयो ।
आयोजक संस्थाका अध्यक्ष प्रेरणा बज्राचार्यको सभापतित्वमा आरम्भ भएको यस तीनदिनको औपचारिक कार्यक्रमको निमित्त धम्मानुशासक अग्गमहासद्धमज्योतिकाधज श्रद्धेय भिक्षु शीलभद्र महास्थवीर, प्रमुख अतिथि लपुमनपा उपमेयर मञ्जली शाक्यलगायत लपुमनपा वडा १६ अध्यक्ष निर्मलरत्न शाक्य, विविध संघसंस्थाका प्रतिनिधि तथा आमान्त्रित गन्यमान्य अतिथिहरुका साथै निर्णायक मण्डलका बौद्ध विद्वत वर्गहरु श्रद्वेय निग्रोध महास्थविर, बौद्ध विदुषी सविता धाख्वा, श्रद्वेय दिपक गुरुजु, बौद्ध विद्वान मिलन शाक्य, न्ह्यसः लिसः कासा विज्ञ शुक्रराज शाक्यजस्ता बौद्ध विद्वत वर्गहरुको उपस्थितिले कार्यक्रमको गरिमा उच्च रह्यो । यस बुद्ध र बुद्धधर्म सम्बन्धि हाजिरीजवाफ प्रतियोगितामा क्विज मास्टरको भूमिका क्रमशः तीन दिन मञ्जु बज्राचार्य, नानी हेरा शाक्य र सुरेन्द्र शाक्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
यस प्रकार सञ्चालित प्रतियोगितामा अन्तिम दिनका प्रतियोगीहरुमध्ये दिपावती परियत्ति केन्द्रले १४ अंक, श्री शाक्यसिंह परियत्ति तथा प्रौढ शिक्षालयले १३ अंक, नेवाः बौद्ध शिक्षा बौद्ध विहार संघले ७ अंक र तःजः परियत्ति केन्द्रले ६ अंक सहित क्रमशः यस वर्षको प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ । बिजेता समूह र प्रतियोगिहरुलाई प्रमाणपत्र, सम्झनाको चिनो, पुस्तकहरु र नगद पुरस्कार प्रदान गरियो । साथै श्री अष्टसद्धर्मायतन बौद्ध परियत्ति केन्द्रलाई उत्कृष्ट समूहको रुपमा भिन्तुना पुरस्कार प्रदान गरिएको थियो ।
यसका साथै बुसं २५७० औं बुद्धजयन्तीको पावन अवसरमा सञ्चालित ५३ औं ललितपुर जिल्लाव्यापी बुद्ध र बुद्धधर्म सम्बन्धि हाजिरीजवाफ प्रतियोगिता सुसम्पन्न भयो । साथै अर्को वर्ष ५४ औं प्रतियोगित दिपावती परियत्ति केन्द्र, गुइतले सञ्चालन गर्नका निमित्त मूगुथिद्वारा पालो हस्तान्तरण कार्यक्रम पनि आजै सम्पन्न भएको छ ।













