अन्तर वडा 7-A-Side फुटबल प्रतियोगिता जावलाखेलमा ललितपुर वडा ४ ले आयोजना गरिदैं

ललितपुर – ललितपुर महानगरपालिका वडा नं. ४ को आयोजनामा ‘काठमाडौं उपत्यका स्तरीय अन्तर–वडा ७-ए-साइड फुटबल प्रतियोगिता : ललितपुर मेयर कप २०८२’ पुस ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता जावलाखेल खेलमैदानमा आयोजना गरिनेछ।

प्रतियोगिताको टाइ–सिट ड्र’ ललितपुर महानगरपालिका वडा नं. ४ का अध्यक्ष सन्तोष खड्गाले गर्नुभएको हो। प्रतियोगितामा काठमाडौं उपत्यकाभरिका ३२ वटा टिम सहभागी रहेका छन्।टाइ–सिट ड्र’ कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खड्गाले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै नियम र अनुशासनमा रही खेलको भावना अनुसार उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो।

प्रतियोगितामा सहभागी प्रत्येक टिमले रु. १०,००० प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन विजेता तथा उत्कृष्ट खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।प्रतियोगिताको विजेता टिमले रु. १ लाख ५० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. ७५ हजार नगदसहित ट्रफी पाउनेछ। साथै, प्रतियोगिताबाट ‘सर्वोत्कृष्ट खेलाडी’ र ‘सर्वोत्कृष्ट गोलकिपर’ लाई जनही रु. १०,००० प्रदान गरिनेछ।

ललितपुर महानगरपालिका वडा नं. ४ अन्तर्गतको वडास्तरीय खेलकुद सञ्चालन समितिले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन गर्ने जनाएको छ। प्रतियोगिताको सफलताका लागि स्थानीय युवा, खेलप्रेमी तथा जावलाखेल युथ क्लबको सक्रिय सहयोग रहने आयोजकले जानकारी दिएको छ।

वडामा खेलकुद विकास, युवा सहभागिता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले उपत्यकाभरिका खेलाडी तथा टोलीहरूको उल्लेखनीय सहभागिता जुटाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *