ललितपुर महानगरपालिका, समन्वय व्यवस्थापन गरिबीका सहयोगी हातहरू नेपाल, ललितपुरको आयोजनामा तथा ललितपुर महानगरपालिका वडा नं. ७ को सहभागितामा तीनदिने आवासीय अन्तरक्रिया कार्यक्रम बन्दीपुरको घलेक गाउँमा सम्पन्न भएको छ।
कार्यक्रममा वडा नं. ७ का जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायबीच योजना सञ्चालन, लेखा व्यवस्थापन, सुशासन तथा संस्थागत विकास सम्बन्धी छलफल गरिएको थियो।
कार्यक्रममा वडा सचिव राजेश शाक्यले आर्थिक वर्ष २०८३/८४ का लागि टोल विकास संस्था, टोल सुधार समिति, माँ पुच, महिला समूह, क्लब तथा विभिन्न समूहबाट प्राप्त योजनाका निवेदनहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी सर्वसम्मत रूपमा पारित गरिएको जानकारी दिए।
वडाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ करोड २५ लाख रुपैयाँको प्रस्तावित बजेट पारित गरेको छ। बजेट अन्तर्गत सामाजिक विकासतर्फ १ करोड ५८ लाख ५५ हजार रुपैयाँ (४९.५ प्रतिशत), पूर्वाधार विकासतर्फ १ करोड ६ लाख ७५ हजार रुपैयाँ (३३.५ प्रतिशत), आर्थिक विकासतर्फ २७ लाख ७० हजार रुपैयाँ (८.५ प्रतिशत), सुशासन तथा संस्थागत विकासतर्फ २६ लाख ५० हजार रुपैयाँ (८ प्रतिशत) तथा वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ लाख ५० हजार रुपैयाँ (२.५ प्रतिशत) विनियोजन गरिएको छ।
“स्वास्थ्य, शिक्षा, स्थानीयलाई रोजगार तथा पुर्खाको सांस्कृतिक सम्पदा हाम्रो संरक्षण” भन्ने दीर्घकालीन सामूहिक सोचसहितको नारालाई आधार बनाएर वडा नं. ७ ले आगामी वर्षका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
वडाले दिगो वडा विकास, स्वास्थ्य बीमामा ९० प्रतिशत अनुदान, पारदर्शी सेवा प्रवाह, सांस्कृतिक सम्पदा संरक्षण, कर्मचारी क्षमता अभिवृद्धि, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने नीति लिएको छ।
त्यसैगरी बेरोजगारलाई रोजगारमूलक कार्यक्रम, SEE उत्तीर्ण गरी घरमा बसेका युवायुवतीका लागि तालिम सञ्चालन, डायलाइसिस तथा किमोथेरापी गराइरहेका बिरामीलाई थप आर्थिक सहयोग, ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण तथा सम्मान कार्यक्रम सञ्चालन गरिने भएको छ।
वडाले SEE उत्तीर्ण विद्यार्थीलाई नगदसहित सम्मान गर्ने, GPA 4 प्राप्त गर्ने विद्यार्थीलाई विशेष पुरस्कार प्रदान गर्ने तथा “कोखदेखि शोकसम्म” कार्यक्रममार्फत जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने योजना समेत अघि सारेको जनाएको छ।
कार्यक्रममा सहभागीहरूले वडा विकास, सुशासन र जनमुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
ललितपुर महानगरपालिका वडा नं. ७ को तीनदिने आवासीय अन्तरक्रिया सम्पन्न, ३ करोड २५ लाखको बजेट प्रस्ताव पारित



