होम बचत तथा ऋण सहकारीको १७औँ साधारण सभा सम्पन्न, कारोबार ६ करोड नाघ्यो

ललितपुर। होम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, छायवहाल ललितपुरको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सञ्चालक समितिका अध्यक्ष श्री मुकुन्द महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे जानकारी गराएका छन्।

संस्थाको कुल कारोबार ६ करोड १२ लाख नाघेको छ भने कुल कर्जा लगानी २ करोड १६ लाख पुगेको छ। सभाले आगामी वर्ष सेयर पुँजी र सदस्य संख्या विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

२०६५ सालमा स्थापना भई सहकारी ऐन, नियमावली र सहकारी मूल्य–मान्यताअनुसार सञ्चालन हुँदै आएको संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिलाई प्राथमिकतामा राख्दै कार्य गर्दै आएको अध्यक्ष महर्जनले बताए। “समुन्नत भविष्यका लागि बचत गर्ने बानी बसालौँ” भन्ने नाराका साथ स्थापना भएको सहकारीले १७ वर्षको अवधिमा विविध अनुभव र उपलब्धि हासिल गरेको उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा संस्थामा महिला २६४ जना, पुरुष ३३६ जना र अन्य ४ जना गरी जम्मा ५४४ जना सेयर सदस्य रहेका छन्। अघिल्लो वर्षको तुलनामा सेयर पुँजीमा वृद्धि भई रु. ५१,४५,००० पुगेको जानकारी सभामा दिइयो। त्यस्तै, संस्थाको कुल कर्जा लगानी रु. २,१६,२३,३८५.०४ र कुल कारोबार रकम रु. ६,१२,१४,९७७.३२ पुगेको छ।

देशको वित्तीय क्षेत्रमा देखिएको सुस्तता, राजनीतिक अस्थिरता तथा व्यापार–व्यवसाय प्रभावित बनेका कारण बैंक, वित्तीय संस्था र सहकारी क्षेत्रमा कर्जा मागमा कमी आएको भए पनि तरलता वृद्धि भएसँगै कर्जा लगानी र असुली चुनौतीपूर्ण बनेको प्रतिवेदनमा उल्लेख छ। यस्तो अवस्थामा पनि संस्थाले बचत संकलन, कर्जा लगानी र असुली प्रक्रियालाई निरन्तरता दिँदै सदस्यको विश्वास कायम राख्न सफल भएको जनाइएको छ।

संस्थाले आर्थिक वर्ष २०८१/०८२ देखि नेपाल सरकारले तोकेको नेपाल वित्तीय प्रतिवेदन मानक (NFRS) अनुसार वित्तीय विवरण तयार गरेको जनाएको छ। संस्थाको लेखा प्रणाली कम्प्युटर सफ्टवेयरमार्फत व्यवस्थित रूपमा सञ्चालन भइरहेको र कर तथा दायित्व समयमै भुक्तानी गरिएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा उल्लेख छ।लेखा सुपरिवेक्षण समितिले प्रस्तुत गरेको प्रतिवेदनअनुसार—आर्थिक वर्ष २०८०/०८१ मा समिति बैठक चार पटक बसेको संस्थाको आर्थिक कारोबार पारदर्शी र नियमअनुसार रहेको कागजात तथा प्रमाण सुरक्षित रूपमा अभिलेख गरिएको नगद तथा बैंक मौज्दात विवरण स्पष्ट रहेको सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यक्तिगत पहिचान फाराम अद्यावधिक गरिएको संस्थाले आगामी आर्थिक वर्षका लागि सेयर पुँजी वृद्धि, सदस्य संख्या विस्तार, बचत तथा कर्जा वृद्धि, समयसापेक्ष सामाजिक कार्यक्रम, सञ्चालक तथा कर्मचारी क्षमता अभिवृद्धि तालिम, नीति–नियम सुदृढीकरण तथा संस्थालाई थप नाफामुखी बनाउने लक्ष्य लिएको जनाएको छ।अन्त्यमा, सञ्चालक समितिले संस्थाको प्रगतिमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण सदस्य, कर्मचारी, अतिथि तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै सहकारीलाई अझ सुदृढ, सक्षम र विश्वसनीय बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *