ललितपुर वडा नं. ४ द्वारा उपत्यका स्तरीय फुटबल प्रतियोगिता पुस ७ गतेबाट सुरु

Date: 2025-12-02

news-banner

ललितपुर — ललितपुर महानगरपालिका वडा नं. ४ द्वारा आयोजना गर्न लागिएको ‘काठमाडौं उपत्यका स्तरीय अन्तर–वडा ७-ए-साइड फुटबल प्रतियोगिता : ललितपुर मेयर कप २०८२’ आगामी पुस महिनामा हुने भएको छ। प्रतियोगिता जावलाखेल खेलमैदानमा सञ्चालन गरिने छ।

आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले पुस ४ गतेभित्र आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ। दर्ता पश्चात् पुस ५ गते टाइ–सिट ड्र’ हुने र  प्रतिस्पर्धा पुस ७ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिने कार्यक्रम छ। प्रतियोगितामा सहभागी प्रत्येक टिमले रु. १०,००० प्रवेश शुल्क तिर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितालाई आकर्षक र प्रतिस्पर्धात्मक बनाउन विजयी टोली तथा उत्कृष्ट खेलाडीहरूलाई मनोबल बढाउने पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टिमले रु. १ लाख ५० हजार सहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ७५ हजार सहित ट्रफी पाउनेछ। त्यस्तै, प्रतियोगिताबाट ‘सर्वोत्कृष्ट खेलाडी’ र ‘सर्वोत्कृष्ट गोलकिपर’ दुवै जनालाई जनही रु. १०,००० प्रदान गरिनेछ।

ललितपुर महानगरपालिका वडा नं. ४ अन्तर्गत रहेको वडास्तरीय खेलकुद सञ्चालन समितिले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको सफलताका लागि स्थानीय युवाहरू, खेलप्रेमी तथा जावलाखेल युथ क्लबको सहयोग रहने आयोजकले जनाएको छ।

वडामा खेलकुद विकास, युवा सहभागिता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिताले उपत्यकाभरिका खेलाडी तथा टोलीहरूको उत्साहजनक सहभागिता जुटाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *