
काठमाडौं । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका र पाटन म्युजियमाको आयोजनामा हस्तकला प्रदर्शनी आयोजना गर्न लागेको छ ।
महासंघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी मंसिर १७ गतेदेखी २१ गतेसम्म प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो ।
ललितपुर महानगरपालिका वडा नं १६ को सहयोगमा कला तथा संस्कृति महोत्सवको अवसरमा प्रदर्शनी गर्न लागिएको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए ।
नेपाली कला र संस्कृतिको परिचायकको रूपमा रहेका हस्तकला वस्तुको प्रचारप्रसार एवं प्रवर्धन गर्ने उद्देश्यबाट पाटन दरवार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने उनले बताए ।
उनले हस्तकला क्षेत्रले धेरै रोजगारी दिएको र राजस्व संकलनमा पनि ठूलो योगदान दिएको उल्लेख गरे । उनले स्थानीय उत्पादनलाई स्थानीय तहमा नै खपत गर्नको लागि महानगरको वडा नम्बर १६ सँग सहकार्य गरेर प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिए ।
उनकाअनुसार हस्तकला प्रदर्शनीमा करिब २१ वटा क्यानोपी र १० वटा टेबुल स्टल रहनेछन् । प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरूको अलाबा ललितपुर महानगरपालिका वडा नं १६ को हस्तकला प्रवर्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातिय पोशाक प्रदर्शनी र सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य लगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीत लगायतको प्रस्तुति गरिने उनले जानकारी दिए ।
महासंघले कोरियास्थित इमाको संस्थाको सहकार्यमा मुखौटा प्रदर्शनी समेत गर्ने उनले जानकारी दिए । मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मुखौटा राखिनेछ ।
ललितपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले वडा नम्बर १६ हस्तकला क्षेत्रको हव भएको बताए । उनले वडामा हस्तकला महासंघसंग मिलेर कला संस्कृतिको क्षेत्रमा वडाले विभिन्न काम गरिरहेको जानकारी दिए ।
उनले प्रदर्शनीको मुख्य उद्देश्य भनेको वडाभित्र रहेका कला, संस्कृति, सभ्यतालाई प्रवर्धन र संवद्र्धन गर्नु रहेको बताए ।
लोप हुन लागेको कला संस्कृतिलाई प्रदर्शनी गर्ने उनको भनाई छ । कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने पनि प्रदर्शनीको उद्देश्य रहेको उनले बताए ।
प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा प्रदर्शनकर्ता तथा आगन्तुकहरूको सुविधाको लागि नेवारी मौलिक खाद्य परिकारका ३ वटा स्टलहरू पनि राखिने महासंघले जनाएको छ ।
महासंघ र ललितपुर महानगरपालिका वडा नं १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त आयोजनामा हुने प्रदर्शनीको बुधवार ललितपुर दरबार स्क्वायरस्थित कार्तिक डबलीमा उद्घाटन हुनेछ । प्रदर्शनी अवलोकन गर्न निःशुल्क प्रवेशको व्यवस्था रहेको महासंघले जनाएको छ ।



