काठमाडौं, जेठ ३० । अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार जापानको आइची–नागोयामा सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडी छनोट प्रतियोगिता २०८३ जेठ २९ र ३० गते राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ।
उक्त छनोट प्रतियोगितामा ४२औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता २०२६ का पुरुष तथा महिला एकलतर्फका शीर्ष ८–८ खेलाडीहरूको सहभागिता रहेको थियो।
पुरुष एकलतर्फ सान्योग कपाली प्रथम, रुबिन महर्जन द्वितीय तथा गणञ्जय दाहाल तृतीय भए। त्यसैगरी महिला एकलतर्फ नविता श्रेष्ठ प्रथम, इभाना थापा द्वितीय तथा योङ्गी पौडेल तृतीय स्थान हासिल गर्न सफल भए।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ रहनुभएको थियो। सो अवसरमा अखिल नेपाल टेबल टेनिस संघले उहाँलाई सम्मान तथा बधाई ज्ञापन गरेको थियो।
कार्यक्रममा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष बिजेन्द्र हमाल, महासचिव कुबेर प्रकाश सिंह, कोषाध्यक्ष ज्याकी महर्जनलगायत पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
छनोट प्रतियोगिताबाट छनोट भएका उक्त खेलाडीहरूले आगामी २० औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन्।



