हेटौंडा सडक विस्तार विरोधमा पक्राउ परेका शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडाैं।

हेटौंडा बजारमा ५०० भन्दा बढी घर-टहरा भत्काउँदै सडक विस्तार गरिएको विरोध गर्दा पक्राउ परेका दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ।

सोमबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश गरेको हो।

दिभेसका हकमा अधिवक्ता राजु शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

‘हेटौंडामा सडक विस्तार गर्न खोज्दा उनले प्रशासनलाई सर्वोच्चको आदेश देखाएका थिए। तर अवरोध गरेको भनेर प्रहरीले पक्राउ गरेको थियो,’ शाक्यले भने, ‘उनका हकमा मैले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेको थिएँ।’

उक्त रिटमाथि सुनुवाइ गर्दै विपक्षी महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ समेत पेस गर्न आदेश गरिएको छ।

सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै हेटौंडा बजारका ५३१ वटा घर–टहरामा शनिबार डोजर चलाएको थियो। सर्वोच्च अदालतले ‘तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न’ शुक्रबार अल्पकालीन आदेश जारी गरेको थियो।

जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले भने आफूलाई आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानै डोजर चलाएर ५३१ वटा घर-टहरा भत्काएका थिए।

लेख :newsof nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *