काठमाडौँ —ललितपुर महागरपालिका वडा ८ का विपुल महर्जन र वडा १७ की अर्सना महर्जन सातौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
स्थानीय राष्ट्रिय खेलाडी सहभागी हुन पाउने खुला सिंगल्सको पुरुषमा विपुल र महिलामा अर्सना विजेता भएका थिए ।
ललितपुर महानगरपालिकाको कनीबहालस्थित आयोजक वडा ६ को हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विपुलले वडा ७ का डिकेन महर्जनलाई १४–१२, ११–६, २–११, ७–११, १२–१० को सेटमा पराजित गरे । वडा १९ का कुशल न्याछो र वडा १२ का सुनिल महर्जत तेस्रो बने ।
महिलातर्फ फाइनलमा अर्सनाले वडा २० की पमिला जोशीलाई ११–८, ११–७, ७–११ र ११–४ को सेटमा हराइन् । वडा ८ की सुरम्य शाक्य र वडा १६ की साइरा शाक्य तेस्रो भए ।
स्थानीय जनप्रतिनिधि पुरुष सिंगल्सको फाइनलमा वडा ११ का जुवन तण्डुकारले वडा २० का अमर डंगोललाई ९–११, ११–८, ११–८, ११–७ ले हराएर स्वर्ण जिते । वडा ११ का कृष्ण महर्जन र वडा २० का शैलेन्द्र शाक्य तेश्रो भए । यो स्पर्धा पहिलो पटक थपिएको हो ।
प्रतियोगितामा वडा ६ का संस्कार रत्न वज्राचार्य, वडा १९ का स्वाइसिब डंगोल, वडा ११ का रेजिन शाक्य, वडा ९ का यारा महर्जन, वडा १९ का सचेत श्रेष्ठ, वडा ८ का युक्ति कर्माचार्य र वडा २० का रुजल महर्जन उदीयमान खेलाडी घोषित भए ।
विभिन्न १७ स्पर्धा समावेश रात्रिकालीन प्रतियोगितामा वडा १६ सर्वाधिक ५ स्वर्णसहित टिम च्याम्पियन बन्यो । प्रतियोगिताको अर्को संस्करण वडा २१ ले आयोजना गर्नेछ । १७ वटै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख २५ हजार रुपैयाँ रहेको छ ।
विजेतालाई ललितपुर महानगरपालिकाकी उपमेयर मन्जली शाक्य वज्राचार्य, आयोजक वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यलगायतले पुरस्कृत गरे ।



