पहिलो ललितपुर मेयर कप पौडी प्रतियोगितामा तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । ‘मेयर कप–राष्ट्रिय पौडीको नयाँ अध्याय’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा तीन नयाँ कीर्तिमान बनेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित हिटिङ स्विमिङ पुलमा सगरमाथा स्विम क्लबले पहिलोपटक आयोजना गरेको प्रतियोगिता माघ २४ र २५ गतेसम्म चलेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ २०० मिटर ब्याक्स्ट्रोकमा जेडेन श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ०२.१५.६२ (२ मिनेट १५ सेकेन्ड ६२ मिलिसेकेण्ड)मिनेटमा पूरा गरी नाथन दोर्जे शेर्पाले ८औं राष्ट्रिय खेलकूदमा राखेको ०२ मिनेट १८ सेकेन्ड १० मिलिसेकेन्डको कीर्तिमान तोडेका हुन् ।
यसैगरी, पुरुषतर्फको १०० मिटर ब्रेस्टस्ट्रोकमा पनि जेडेन श्रेष्ठले नै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । श्रेष्ठले उक्त दूरी ०१.०५.८१ (१ मिनेट ५ सेकेन्ड ८१ मिलिसेकेन्ड) मा पूरा गरी १३ औं एनएसए कप प्रतियोगितामा विकास कुमालले राखेको १.०६.८५ (१ मिनेट ६ सेकेन्ड ८५ मिलिसेकेन्डको कीर्तिमान तोडे ।
पुरुषतर्फ नै १०० मिटर बटरफ्लाईमा अथर्व सिंहले ०२.१७.२५ (२ मिनेट १७ सेकेन्ड २५ मिलि सेकेन्ड)मा उक्त दूरी पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ८औं राष्ट्रिय खेलकुदमा नाथन दोर्जे शेर्पाले राखेको २.१८.१० (२ मिनेट १८ सेकेन्ड १० मिलिसेकेन्ड)को कीर्तिमानलाई तोडे । नयाँ राष्ट्रिय कीर्तिमान राख्ने खेलाडीहरूले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित आयोजक सगरमाथा स्विम क्लब पहिलो भयो । क्लबले ३७०१ अंक प्राप्त गरेको थियो । यसैगरी, निसर्ग बाटिका स्कुल १०७७ अंकसहित दोस्रो भयो भने लिटिल एन्जल्स स्कुलले ३११ अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भयो ।
पहिलो हुने सगरमाथा स्विम क्लबले ट्रफीसहित २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने दोस्रो हुने निसर्ग बाटिका स्कुलले ट्रफीसहित १५ हजार र तेस्रो हुने लिटिल एन्जल्स स्कुलले १० हजार रुपैयाँ हात पार्यो ।
प्रतियोगितामा उमेर समूहअन्तर्गत १० वर्षमुनिको उमेर समूहमा महिलातर्फ सगरमाथा स्विम क्लबकी राइजा अवाले ४ स्वर्ण पदकसहित उत्कृष्ट खेलाडी घोषित भइन ।
१० वर्षमुनिको उमेर समूहमा पुरुषतर्फ भने निसर्ग बाटिका स्कुलका साहस शाक्य ४ स्वर्ण पदकसहित उत्कृष्ट खेलाडी घोषित भए ।
यसैगरी, महिलातर्फ सगरमाथा स्विम क्लबकी आर्या महर्जन ६ स्वर्ण पदक जितेर उत्कृष्ट खेलाडी घोषित भइन भने पुरुषतर्फ सगरमाथा स्विम क्लबकै अथर्ब सिंह कूल ६ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा उत्कृष्ट हुने चारै जना खेलाडीहरूले जनही पाँच हजार रुपैयाँ र ३७ हजार रुपैयाँ पर्ने अनर कम्पनीको मोबाइल फोन प्राप्त गरे ।
प्रतियोगितामा ५ वर्षदेखि २१ वर्षसम्मका उमेर समूह र खुल्ला समूह (महिला तथा पुरुष) गरी कुल ७१ वटा इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा २७६ जना खेलाडीको सहभागिता रहेको थियो । बालबालिका तथा युवामाझ पौडीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
आयोजक सगरमाथा स्विम क्लबका अध्यक्ष सुशील सिंहले प्रतियोगितामा उल्लेखनीय सहभागिता रहेको भन्दै खुसी व्यक्त गरे । उनले स्विमिङ खेलले खेलाडीको स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।
राष्ट्रिय पौडी प्रशिक्षक तथा सगरमाथा स्विम क्लबका संरक्षक रत्नलाल महर्जनले माघ महिनाको चिसोमा पनि पौडी प्रतियोगिता आयोजना हुनुले खेलाडीहरूमा सकारात्मक सन्देश जाने बताए । साथै उनले जति धेरै पौडीका प्रतियोगिता भयो, त्यति धेरै अभ्यास हुने र खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन सहज हुने बताए ।



