दक्षिण कोरियाको इन्चोनमा मे १६ देखि २६ तारिखसम्म सञ्चालन हुने “याङ यङ जा टेबलटेनिस मिसन (YTTM) अन्तर्राष्ट्रिय प्रशिक्षण शिविर” मा नेपालका ६ जना युवा खेलाडी सहभागी भएका छन्। उक्त प्रशिक्षण शिविरसँगै नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिस्चियन टेबलटेनिस प्रतियोगितामा समेत सहभागिता जनाउनेछ।
नेपालबाट सहभागी हुने खेलाडीहरूमा यू–१३ तर्फ रिभान मुनी बज्राचार्य र प्राज्ञा महर्जन, यू–१६ तर्फ रिजन शाक्य र सुरम्या शाक्य तथा यू–१९ तर्फ हिमाल बिष्ट र योङ्गी पौडेल रहेका छन्। टोली व्यवस्थापकको रूपमा हाना को रहेकी छन्।
सहभागी खेलाडीहरूमध्ये रिभान मुनी बज्राचार्य, रिजन शाक्य तथा सुरम्या शाक्य ललितपुर जिल्लाका खेलाडी हुन्।
यस प्रशिक्षण शिविरका लागि खेलाडी छनोट गत अक्टोबर ५, २०२५ मा ललितपुरको भैंसेपाटीस्थित नेपाल एपीएम क्लबमा सम्पन्न भएको थियो। प्रतियोगितामा यू–१३, यू–१६ र यू–१९ उमेर समूहका छात्र तथा छात्रा गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो। प्रत्येक विधाका विजेता खेलाडीहरूलाई दक्षिण कोरियाको प्रशिक्षण शिविरका लागि छनोट गरिएको हो।
प्रशिक्षण शिविरमा नेपालसहित फिलिपिन्स, लाओस र मंगोलियाका गरी कुल २५ जना खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
उक्त शिविरको नेतृत्व सन् १९८८ की ओलम्पिक स्वर्ण पदक विजेता दक्षिण कोरियाकी चर्चित टेबलटेनिस खेलाडी Yang Young-ja ले गर्नेछिन्। सहभागी खेलाडीहरूले उनी तथा उनको प्रशिक्षक टोलीसँग प्रत्यक्ष प्रशिक्षण लिने अवसर पाउनेछन्।
याङ यङ जा विगत ७ वर्षदेखि नेपाली टेबलटेनिसको विकासमा सक्रिय रूपमा सहयोग गर्दै आएकी छन्। उनले नेपालमा तीन पटक टेबलटेनिस क्लिनिक सञ्चालन गरिसकेकी छन् भने नेपाली युवा खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा विकासका लागि निरन्तर योगदान पुर्याउँदै आएकी छन्।
अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीहरूलाई बिदाइ गर्दै।



