Headlines

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्नललितपुर, ११ जेठ: स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ।स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल विल्डिङ इनफरमेशन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित ”निर्माण सूचना प्रणाली’ (वीआइएम) सम्बन्धी चार दिने आधारभूत तालिम आइतबार  सम्पन्न भएको हो।

तालिम समापनका अवसरमा मन्तव्य राख्नुहुँदै नेपाल इन्जिनियरिङ एशोसियशनका अध्यक्ष सुभासचन्द्र बरालले यस्ता तालिमले पेशागत क्षेत्रमा प्रभावकारी हुनुका साथै आफ्नो कार्यालय र,परियोजनाको क्षमता अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
“नेपाल इन्जिनियरिङ एशोसियशनले यस्ता खालमा तालिमलाई प्राथमिकता दिने छ, पेशागत जीवनमा समस्यालाई समाधान गर्ने क्षमता अभिबृद्धि गर्ने कुरामा हामी तत्पर छौँ, इन्जिनियरहरुको सक्रियता र चासोले हाम्रो पेशागत संस्था बलियो हुने हो, संघसंस्थाहरुको सक्रियता र तालिमहरुले पेशागत मुल्य र मान्यतालाई अगाडि बढाउन सहयोग पुर्‍याउने छ।” उहाँले भन्नुभयो।
उहाँले आगामी दिनहरूमा यस्ता तालिम र प्रविधिसग जोडिएर काम गर्नुपर्छ भन्ने आवाज आफूहरूले जानकारी गराउनुभयो।
पूर्वाधार मन्त्रालयका सहसचिव लिला खतिवडाले यस्तो तालिमले नयाँ किसिमको प्रविधिलाई अँगाल्दै अगाडि बढ्नका लागि यस्ता तालिमहरु अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्दै ठूला परियोजनालाई विश्वासनीय र प्रभावकारी  बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। उहाँले यस्ता किसिमका तालिमहरुले ठूला संरचना बनाउन योजना र तयारीमा सहजता ल्याउँदै लागत कम गर्नका साथै निर्णयका लागि सकरात्मक प्रभाव पार्ने धारणा राख्नुभयो।
स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपालका अध्यक्ष कृष्ण सिंह बस्नेतले हामीले बनाएको योजना अनुसार स्ट्रक्चरल इन्जिनियरलाई फाइदा पुर्‍याउने गरी नेपाल वीआईएम फोरमसंग सहकार्य गरेर काम गर्न सफल भएको बताउनुभयो। 
सोसाइटी अफ अर्किटेक इन्जिनियर एशोसियशनका अध्यक्ष इश्वरलाल जोशीले चार दिने तालिमबाट सिकेको ज्ञानका आधारमा अभ्यास गर्दै अनलाइन माध्यमबाट पनि सिकेर अभ्यास गर्न आग्रह गर्नुभयो।
नेपाल वीआईएम फोरमका उपाध्यक्ष नवीन घिसिङले इन्जिनियरिङ सीप अभिबृद्धिका लागि विभिन्न संघसंस्थासंग मिलेर तालिमहरु आयोजना गर्दै आएको यो फोरमले ज्ञान, सीप र क्षमता अभिबृद्धिका लागि काम गरिरहेको बताउनुभयो।
तालिमका मुख्य प्रशिक्षक सुधीर थापाले तालिमबाट प्रविधिका साथै राम्रो संरचना डिजाइन गर्ने आधारभूत तथा सरल कुराहरु दिने प्रयास सफल भएको भन्दै तालिमका क्रममा आएका सुझावहरुले आगामी तालिम आझै प्रभावकारी हुने धारणा राख्नुभयो।

एशोसियशनका संस्थाका सहसचिव डाक्टर भरत प्रधानले तालिमले दिन खोजेको कुरा सफल भएको धारणा राख्दै आगामी दिनहरुमा अझै व्यवस्थित र प्रभावकारी हुने बताउनु भयो।

काठमाडौं विश्वविद्यालयबाट दीक्षित क्षितिज पण्डितले अबको भविष्य वीआईएम भएकोले यो तालिमले धेरै कुरा सिकाएको  धारणा राख्नुभयो।
इन्जिनियर अच्युत पौडेलले चार दिने तालिमले अवसर सृजना गरेको भन्दै नेपालमै बसेर इन्जिनियरिङ काम गर्नका लागि पनि यो तालिम अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेका कुराहरूलाई प्रभावकारी रुपमा अभ्यासमा ल्याउन आग्रह गर्नुभयो।
एशोसियशनका कोषाध्यक्ष रुपेन्द्रवरध्वज थापाले नेपालमा हाल धेरै सार्वजनिक निर्माण तथा पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न नहुने, लागत अत्यधिक वृद्धि हुने तथा परियोजनाहरू निर्धारित गुणस्तर र समयसीमाभित्र सम्पन्न हुन नसक्ने समस्या बढ्दो रूपमा देखिएकोले यस्ता समस्या समाधानका लागि इन्जिनियरहरुको कार्यक्षमता, दक्षता र सोचमा सकरात्मक परिवर्तनको लागि प्रविधिमैत्री यस्ता कार्यक्रम उपलब्धिपूर्ण हुने धारणा राख्नुभयो।

तालिमका संयोजक एवम्  राजेन्द्र गौतमले यस्ता तालिमहरुले डिजिटल प्रविधिको माध्यमबाट परियोजनाको समय, लागत तथा गुणस्तर व्यवस्थापनमा सुधार ल्याउने र इन्जिनियरिङ क्षेत्रको आधुनिकीकरण तथा दिगो पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गर्नुभयो।
आजको आधुनिक निर्माण क्षेत्रमा निर्माण सूचना प्रणाली (विआईएम) प्रविधि केवल डिजाइनको माध्यम मात्र नभई सम्पूर्ण परियोजना व्यवस्थापन, समन्वय, विश्लेषण तथा निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने डिजिटल प्रणालीको रूपमा विकास भइरहेको जानकारी गराइएको छ।  नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा सुरक्षित, दिगो तथा गुणस्तरीय संरचना निर्माणका लागि विआईएमको प्रयोग अत्यन्त आवश्यक मानिन्छ।

यस तालिमले सहभागी संरचनात्मक इन्जिनियरहरूलाई आधुनिक डिजिटल मोडलिङ प्रविधि तथा विआईएम आधारित कार्यप्रणालीबारे व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ। विआइएमको प्रयोगबाट संरचनाको थ्रीडी मोडल तयार गरी डिजाइन त्रुटि पहिचान, विभिन्न प्राविधिक टोलीबीच प्रभावकारी समन्वय, निर्माण लागत नियन्त्रण, समय व्यवस्थापन तथा परियोजनाको गुणस्तर अभिवृद्धि गर्न सहज हुन्छ। यसले परम्परागत डिजाइन प्रणालीको तुलनामा बढी शुद्धता, दक्षता तथा विश्वसनीयता प्रदान गर्दछ।

नेपालमा तीव्र शहरीकरण, आधुनिक भवन निर्माण तथा पूर्वाधार विकासको बढ्दो क्रममा विआईएम प्रविधिको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको जानकारी गराइएको थियोे । सरकारी तथा निजी दुवै क्षेत्रमा डिजिटल निर्माण प्रणालीतर्फ आकर्षण बढिरहेको वर्तमान अवस्थामा यस्ता तालिमहरूले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र कार्यशैलीसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ।
यस तालिम कार्यक्रमले नेपाली संरचनात्मक इन्जिनियरहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै आधुनिक, सुरक्षित र प्रविधिमैत्री निर्माण संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ। आगामी दिनहरूमा पनि यस्ता प्राविधिक तथा व्यावसायिक तालिमहरू निरन्तर सञ्चालन गर्दै नेपालको इन्जिनियरिङ क्षेत्रलाई अझ सक्षम, नवप्रवर्तनमुखी र विश्वस्तरीय बनाउने लक्ष्य रहेको छ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *