४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि छनोट खेलमा सहभागी खेलाडीलाई सम्मान
ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता २०२६ का लागि बागमती प्रदेश छनोट खेलमा सहभागी हुने खेलाडीहरुलाई आज एक विशेष कार्यक्रमबीच बधाई तथा सम्मान गरिएको छ।
बागमती प्रदेश छनोट प्रतियोगिता २०८३ साल बैशाख २८ र २९ गते राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौर काठमाडौंमा सञ्चालन हुने भएको छ। उक्त छनोट प्रतियोगितामा सहभागी हुने ललितपुर जिल्लाका खेलाडीहरुलाई आगामी राष्ट्रिय प्रतियोगिताका लागि शुभकामना दिँदै सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री बिनोद महर्जन रहनुभएको थियो। उहाँले खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै अनुशासन, मेहनत र निरन्तर अभ्यासले उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताउनुभयो।
सम्मानित हुने खेलाडीहरुमा रिभान मुनी बज्राचार्य, रिजन शाक्य, मुकेश महर्जन, कुशल न्याछ्यों, कुशल शाक्य, अर्शना महर्जन,पमिला जोशी, ब्रिटिना तुलाधर, इशान्वी महर्जन, तथा काव्या शाक्य रहेका छन्।
त्यसैगरी टोली व्यवस्थापक राजीव जोशी तथा प्रशिक्षक आशिष आवालेको समेत कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता यही मे २८ देखि ३१ तारिखसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।



