फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ अन्तर्गत भएको निकै रोमाञ्चक खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको छ। यो ऐतिहासिक जितसँगै नर्वे प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने उपाधि दाबेदार ब्राजिलको विश्वकप यात्रा अन्तिम १६ मै टुंगिएको छ।
नर्वेका लागि स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनले खेलको उत्तराद्र्धमा दुई उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए।
पहिलो हाफमा ब्राजिलको पेनाल्टी मिस: खेलको पहिलो हाफमा ब्राजिलले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो। ब्राजिलका ब्रुनो गुइमारेसले प्रहार गरेको पेनाल्टीलाई नर्वेका गोलकिपर ओर्यान निल्यान्डले उत्कृष्ट बचाउ गरे। ४० वर्षमा ब्राजिलले विश्वकपमा पेनाल्टी मिस गरेको यो पहिलो पटक हो।
हालान्डको जादु: दोस्रो हाफमा आक्रामक बनेको नर्वेका लागि अर्लिङ हालान्डले खेलको ७८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। त्यसपछि खेलको ८९औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित निश्चित गरे।
खेलको इन्जुरी समयको ९औं मिनेटमा ब्राजिलका लागि नेयमारले पेनाल्टी मार्फत एक गोल फर्काए पनि त्यो ब्राजिललाई हारबाट जोगाउन पर्याप्त हुन सकेन।
ऐतिहासिक कीर्तिमान कायम
नर्वे फुटबल इतिहासमा ब्राजिलविरुद्ध अपराजित रहने एक मात्र टोलीको रूपमा आफ्नो बलियो रेकर्ड कायम राख्न सफल भएको छ। यसअघि सन् १९९८ को विश्वकपमा पनि नर्वेले ब्राजिललाई २-१ ले नै पराजित गरेको थियो, जसलाई नर्वेले २८ वर्षपछि पुनः विश्वकपको मञ्चमा दोहोर्याएको छ।
अब क्वार्टरफाइनलमा नर्वेले इङ्गल्याण्ड र मेक्सिकोबीचको विजेतासँग सामना गर्नेछ।



