काठमाडौं, साउन २ – आगामी २०औँ एसियाली खेलकुद, नागोया (जापान) को तयारीस्वरूप ललितपुरका वर्तमान राष्ट्रिय च्याम्पियन टेबल टेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल आज एक महिनाको विशेष प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्।
उनीहरू जुलाई १८ देखि अगस्ट १८, २०२६ सम्म सियोलस्थित डोक्सान हाई स्कुल मा सञ्चालन हुने प्रशिक्षणमा सहभागी हुनेछन्। उक्त प्रशिक्षण सन् १९८८ सियोल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जा को निमन्त्रणामा आयोजना गरिएको हो।
अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीद्वयलाई सफल प्रशिक्षण तथा आगामी एसियाली खेलकुदका लागि शुभकामनासहित बिदाइ गर्नुभएको थियो।
प्रशिक्षणका क्रममा उनीहरूले दक्षिण कोरियाको उन्नत प्रशिक्षण प्रणालीसँगै राष्ट्रिय टोलीको प्रशिक्षण अवलोकन गर्ने तथा प्रशिक्षक र खेलाडीहरूसँग अनुभव आदानप्रदान गर्ने अवसर समेत प्राप्त गर्नेछन्।



