ललितपुर महानगरपालिका वडा नं. २१ मा २०८२/८३ मा भएका विकास निर्माणका कामबारे पत्रकार सम्मेलन सम्पन्न

ललितपुर महानगरपालिका वडा नं. २१ वडा समितिको आयोजनामा वडाध्यक्ष रविन्द्र महर्जन, वडा सचिवहरू, वडा सदस्यहरू तथा पत्रकारहरूको उपस्थितिमा वडा नं. २१ मा हालसम्म सम्पन्न भएका विकास निर्माणका काम, सामाजिक विकास कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन सम्पन्न भएको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वडाध्यक्ष रविन्द्र महर्जनले देशमा भएका तत्कालीन निरंकुश व्यवस्थाविरुद्धका राजनीतिक परिवर्तनहरू, २०४६ सालको जनआन्दोलन, २०५२ सालमा सुरु भएको १० वर्षे जनयुद्ध तथा २०६२/०६३ को जनआन्दोलनको परिणामस्वरूप प्राप्त ऐतिहासिक संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि स्थानीय तहले नयाँ संरचनाअनुसार काम सुरु गरेको बताए।
उनले २०७४ सालमा निर्वाचित पहिलो कार्यकालमा स्थानीय ऐन–कानुन निर्माण, प्रारम्भिक असल अभ्यासको सुरुवात तथा केही आधारभूत पूँजीगत योजनाहरू सञ्चालन गरिएको उल्लेख गरे। साथै, २०७९ सालको निर्वाचनपछि दोस्रो कार्यकालमा सामाजिक विकास तथा पूर्वाधार विकासका योजनाहरूले तीव्रता पाएको बताए।
वडाध्यक्ष महर्जनका अनुसार यस कार्यकालमा वडा तथा नगरस्तरीय कार्यक्रमअन्तर्गत आर्थिक विकासका लागि विभिन्न समूहलाई आवश्यकता र मागका आधारमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ। कृषि, खेलकुद, व्यवसाय प्रवर्द्धन, महिला स्वावलम्बन, युवा लक्षित, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू सञ्चालन गरिएका छन्। संस्कृति तथा परम्परा संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान, कलेज छात्रवृत्ति, स्वास्थ्य बीमा तथा पर्यटन प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरिएको जानकारी दिइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *