प्लास्टिक ओढेका स्कुले नानीहरूको भिडियोले बनायो भाईरल

दाङ — तीन दिनअघि रोल्पाका लोकेन्द्र पुनले फेसबुकमा पोस्ट गरेको १८ सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । बिहीबार बेलुका साढे ८ बजेसम्म २ करोड ६० लाखले भिडियो हेरिसकेका छन् । ८ लाख ४८ हजार लाइक, १० हजार ४ सय कमेन्ट र ५ हजार ७ सय सेयर छ ।

फरक-फरक रंगका प्लास्टिक ओढेर आफ्नै तालमा हिँडिरहेका बालिकाहरूको दृश्य निकै आकर्षक छ । पानी परिरहेको बेला पहाडी बाटोमा हिँडिरहेका तीन बालिकाको भिडियोले धेरैको ध्यान खिचेको छ । पुनले बोलाउँदा पनि केही प्रतिक्रिया नदिई बालिकाहरू आफ्नै सुरमा फटाफट हिँडिरहेका देखिन्छन् ।

पुनले ‘हेलो साथीहरू…’ भन्दै पटक-पटक बोलाउँदा पनि उनीहरू केही नबोली हतार-हतार हिँडेका छन् । पछाडिबाट खिचिएको भिडियोमा बालिकाहरूको अनुहार देखिँदैन । धेरैले बालिकाहरूको अनुहार देखाइदिन अनुरोध गरेपछि पुनले बिहीबार बिहान फेरि बालिकाहरूको अनुहार देखिने भिडियो खिचे । उनले बाटो छेकेर बोलाउन खोजे तर बालिकाहरू केही पनि नबोली फटाफट आफ्नो बाटो लागे ।

केही गर्दा पनि नबोलेपछि पुनलाई यसबारे अझै बुझ्न मन लाग्यो । उनी बिहीबार दिउँसो रोल्पाको रुन्टीगढी गाउँपालिका–४, तोलबाङस्थित बालिकाहरूको घर पुगे । घरमा आमाहरू मात्रै रहेछन् । दुई बालिका एक घरका र अर्की बालिका अर्को घरकी रहेछिन् । तीनै बालिकाका बुवाहरू रोजगारीका सिलसिलामा विदेश रहेछन् । घरबाट स्कुल पुग्न करिब ४५ मिनेटजति हिँड्नुपर्ने रहेछ ।

बाटो लामो पर्ने र आमाहरू पनि स्कुल छोड्न र लिन नजाने भएकाले बालिकाहरू एक्लै आउनेजाने गर्ने रहेछन् । ‘आमाहरूले बाटोमा कोहीसँग नबोल्नु, कसैले दिएको नखानु भनेर सिकाएका रहेछन्,’ पुनले भने, ‘मैले बोलाएको उनीहरूले सुनेका रहेछन् तर आमाले कोहीसँग नबोल्नु भनेकाले केही नबोली हिँडेका रहेछन् ।’ घरमा पुगेपछि आमाहरूका अगाडि भने बालिकाहरूले खुलेर कुरा गरे । विदेशबाट बुवाहरूले भिडियो भाइरल बनाइदिएकामा पुनलाई धन्यवाद् पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *