ललितपुर महानगरपालिका वडा नम्बर ७ मा समुदाय स्तरीय रहेका सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम-:

ललितपुर, ललितपुर महानगरपालिका वडा नम्बर ७ मा समुदायस्तरीय सक्रिय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल फन्डअन्तर्गत नेपाल सरकार, UNDP र जनताको त्रिपक्षीय साझेदारीमा ललितपुर महानगरपालिकाको सहकार्य तथा स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
जापान–नेपाल स्वास्थ्य तथा अनुसन्धान संस्थाको आर्थिक तथा प्राविधिक सहयोग तथा वडा कार्यालयको समन्वयमा आयोजित एकदिने कार्यक्रममा एआई (AI) प्रविधिमार्फत निःशुल्क छातीको एक्स–रे सेवा प्रदान गरिएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले समुदायमै पुगेर क्षयरोगको प्रारम्भिक पहिचान, परीक्षण तथा निदान गरेको थियो।
कार्यक्रमको उद्देश्य समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीहरूको समयमै पहिचान गर्ने, उपचारमा ल्याउने तथा समुदायमा क्षयरोगको संक्रमण न्यूनीकरण गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रमअघि वडा सदस्य, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, टोल हेल्थ प्रमोटर तथा सम्बन्धित सरोकारवालाहरूलाई क्षयरोग खोजपडताल सम्बन्धी एकदिने अभिमुखीकरण प्रदान गरिएको थियो। त्यसपछि घरदैलो (Door-to-Door) अभियान सञ्चालन गरी क्षयरोगको जोखिममा रहेका व्यक्तिहरूलाई निःशुल्क परीक्षण सेवामा सहभागी हुन आग्रह गरिएको थियो।
कार्यक्रमका क्रममा छातीको एक्स–रेमा शंकास्पद देखिएका व्यक्तिहरूको खकार नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षणबाट क्षयरोग पुष्टि भएका बिरामीलाई निःशुल्क औषधि उपचारमा समावेश गरी नियमित उपचार तथा थप निगरानीका लागि नजिकको स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आज आयोजित शिविरबाट कुल ३३५ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। समुदायको उल्लेखनीय सहभागिता रहेको यस शिविरले क्षयरोगको समयमै पहिचान, उपचार तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। स्थानीय तह, स्वास्थ्यकर्मी तथा समुदायबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले क्षयरोगमुक्त समाज निर्माणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *