
नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका पुरातात्विक महत्व भएका कलात्मक वस्तुहरु अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएकाको संख्या आजको समेत १२७ पुगेको रहेछ ।
यीमध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क (म्यानह्याटन) स्थित Metropolitan Museum of Arts मा रहेको काष्ठको ३३ इन्चको नृत्यदेवी (१६ औं शताब्दी) ललितपुर, पाटनस्थित राजश्री महाविहार (ईबाहावही)बाट वि.सं. २०४५/४६ सालमा हराएको थियो । यसैगरी संयुक्त राज्य अमेरिकाको CA स्थित Berkley Art Museum मा रहेको तामाबाट निर्मित सुनौलो रङको १७ इन्चको पद्मपाणी लोकेश्वरको मूर्ति (१३औं शताब्दी) काठमाण्डौंको ठमेलस्थित विक्रमशिल महाविहार (थँबही/भगवान बहाल) बाट १९८० को दशकमा हराएको थियो ।
अमेरिकाको माथि उल्लिखित संग्रहालयमा रहेका उक्त पुरातात्विक महत्वका वस्तुहरु संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित District Attorney Office of New York, Antiquities Trafficking Unit ले अनुसन्धानको लागि राखेको र गैरकानुनी रुपमा नेपालबाट गएको प्रमाणित भएपछि उक्त मूर्तिहरु संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित नेपाली वाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्यदूतलाई एक समारोहबीच मिति २०८३।०३।०९ ( जुन २३, २०२६) मा हस्तान्तरण गरिएको थियो । साथै उक्त वस्तुहरुको उत्पत्तिस्थल नेपाल भएको भनी यस विभागबाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता गर्न सहजता मिलेको थियो ।
आज पुरातत्व विभागको सभाहलमा एक भव्य समारोहबिच महत्वपूर्ण सरोकारवाला प्रतिनिधिहरु राजदूत, नगरपालिका प्रमुख, वडाध्यक्ष र स्थानियहरु समेतको सहभागितामा नेपाल सरकार पुरातत्व विभागबाट हस्तान्तरण कार्य सम्पन्न गरेको छ र सबै प्रत्यक्ष अप्रत्यक्ष साथ दिनेहरुलाई धन्यवाद ज्ञापन गरेको छ



