Headlines

शैलेन्द्र अधिकारीको बहुप्रतीक्षित ‘तेजस्’ उपन्यास सार्वजनिक

काठमाडौँ: लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ। वि.सं. २०८३ श्रावण १६ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिस्थानको पारिजात प्रेक्षालयमा सम्पन्न कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले पुस्तकको संयुक्त विमोचन गरेका हुन्।

कार्यक्रममा भिक्षु कोण्डन्य महास्थवीरले ‘तेजस्’मा राणाकालमा बौद्ध समुदायमाथि भएको दमन र भिक्षुहरूलाई देशनिकाला गरिएको प्रसंग तथा पञ्चायतकालमा उनीहरू स्वदेश फर्किएको इतिहासलाई समेटिएको बताए। उपन्यासले भाषा, संस्कार र संस्कृतिको संरक्षणको सशक्त सन्देश दिएको उनको भनाइ थियो। विपश्यना र बौद्ध दर्शनका पक्षहरू पनि कथामा प्रभावकारी रूपमा समेटिएको भन्दै उनले उपन्यास सशक्त र पठनीय भएको बताए।

आख्यानकार एवं अनलाइनखबरका प्रधान सम्पादक बस्नेतले ‘तेजस्’ काठमाडौँको भूगोल र इतिहास बुझ्न अत्यन्त उपयोगी कृति भएको बताए । सेतो ख्याकको दृष्टिकोणबाट कथा भनिएकाले उपन्यास रहस्यमय बनेको उल्लेख गर्दै उनले बौद्ध धर्ममाथि राज्यले विभिन्न कालखण्डमा गरेको उपेक्षा र दमनलाई पुस्तकले गहिराइका साथ उजागर गरेको उनको भनाइ थियो। ‘कान्तिपुर (काठमाडौँ) को भूगोल र इतिहासको यो एउटा टुर गाइड पुस्तक बनेको छ,’ उनले भने, ‘किताब स्वादको बनेको छ। संगठन नबनाइ एक्लै एक्लै काम गर्दा बिद्धस्टहरूलाई राज्यले कति सतायो भन्ने दस्तावेज हो यो किताब।’

रास्वपा नेता पाण्डेले असन, वसन्तपुर, नेवार समुदाय र ख्याकसँग सम्बन्धित धेरै कम सुनिएका कथा पुस्तकमा समेटिएको उल्लेख गर्दै उपन्यासले काठमाडौँका सम्पदालाई हेर्ने आफ्नो दृष्टिकोण नै परिवर्तन गरेको बताए।

संस्कृतिकर्मी नानी हेरा शाक्यले उपन्यासले नेपाल मण्डलकालीन कान्तिपुर, वसन्तपुर, कुमारीघर, हनुमान ढोका परिसर, स्वयम्भू, चन्द्रागिरी अनि भोजपुर सम्मको परिवेशलगायत रत्नमणी पात्रका रुपमा पौभा कलाकारको घरलाई जीवन्त रूपमा पाठक स्वयम् सोही स्थानमा पुगेको महसुस हुनेगरी उतार्न लेखक सफल भएको बताइन् । यस पुस्तकमा बौद्ध धर्मको श्रावकयान, महायान र बज्रयान अन्तरघुलन हुन सक्नुमा अधिकारीको गहिरो अध्ययनको प्रशंसा समेत गरिन् । गैह्र नेवार र नेपालभाषाको भईकनपनि यस्तो विषयमा कलम चलाएको त्यस लेखकीय आँटका निम्ति खुसी व्यक्त गरिन् । यसमा नेवार समुदाय कसरी क्रमशः केन्द्रबाट बिस्तारै टाढिदैं सीमान्तकृत हुन विवश भयो त भन्ने विषयलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको भन्दै उनले नेपाल भाषाका केही शब्दमा सामान्य त्रुटि रहेको पनि औंल्याइन् । मन्तव्यकै दौरान किताबमा अंकित केही वाक्यहरु समेत वाचन गरिन् ।
कान्तिपुर काठमाडौं बनेलगत्तै चिरनिद्रामा सुत्यो ।
दिनभरि खेत जोतेर आएको किसान जसरी,
परीक्षा सकिएको रात्रि, विद्यार्थी निदाए जसरी,
सुहागरातको समागमपछि नवविवाहिता निदाए जसरी,
युद्ध जितेर घर फर्किएको सिपाही
आफ्नी प्रेमिकाको काखमा शिर राखेर निदाए जसरी,
ब्युझिएको एक महिनासम्म मस्त खाइपिइ गरेर,
६ महिनाको लामो समयावधिका लागि
विश्राममा पल्टिएको कुम्भकर्ण जसरी,
अथवा
शल्यक्रिया गर्नुपूर्व चिकित्सकले
एनेस्थेसिया दिएको बिरामी जसरी काठमाडौं निदायो ।
आफैंमा मग्नमस्त भएर काठमाडौं यसरी निदायो कि
उसले यसबीचमा कुनै सपना देखेन ।
ब्यूँझिंदा पनि ब्युझिएन । चिरनिद्रा ! अनन्त !
अन्तमा, आफू स्वयम् यस समुदायमा हुर्किएको नाताले पनि यस किताबका सबै भाव र शब्दहरुलाई आत्मसात गर्दै लेखकलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

कवि रूपक अलंकारले अध्ययनशील लेखकका रूपमा अधिकारीको प्रशंसा गर्दै ‘तेजस्’ कुनै एक पात्रको कथा मात्र नभई समयसँगै बदलिएको काठमाडौँ, नेवारी संस्कृति र बौद्ध धर्मको रूपान्तरणको कथा भएको बताए। शाहकाल र त्यसपछिका राजनीतिक परिवर्तनले काठमाडौँ र बौद्ध परम्परामा पारेको प्रभावलाई उपन्यासले प्रभावशाली रूपमा चित्रण गरेको उनको भनाइ थियो।

लेखक शैलेन्द्र अधिकारीले उपन्यास लेख्ने क्रममा नेपालबाट बौद्ध भिक्षुहरू देशनिकाला गरिएको इतिहासले आफूलाई गहिरो रूपमा छोएको बताए । नेवारी समुदायको जीवन र संस्कृतिलाई नजिकबाट बुझ्न आफूले लामो समय अध्ययन र सहकार्य गरेको उल्लेख गर्दै उनले इतिहास, मिथक र सामाजिक यथार्थलाई जोडेर ‘तेजस्’ तयार भएको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *